अंग्रेजी नयाँवर्षको स्वागतमा लेकसाइडमा सडक महोत्सवको तयारी

हिमाली आवाज । अँग्रेजी नयाँवर्ष २०२४ को स्वागतमा पोखरामा २५ औँ संस्करणको सडक महोत्सव हुने भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा आगामी पुस १२ गते देखि १६ गतेसम्म महोत्सव आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जाकारी दिइएको हो । महोत्सवमा पाँचदेखी पाँच लाख ५० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक आगमन हुने विश्वास आयोजकको छ ।

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ को नारा सहित महोत्सव लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रमा सञ्चानल हुने रेवान पोखराका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव विभिन्न क्षेत्रका सांस्कृतिक कार्यक्रमहरु तथा प्रर्दशनीमा केन्द्रित हुनेछ ।

महोत्सवमा हस्तकला, चित्रकला, स्थानिय उत्पादनका बस्तु तथा सेवाको बिक्रि वितरण एवं प्रर्दशनी समेत गरिने भएको बताइएको छ । महोत्सवबाट बचत भएको २० प्रतिशत रकम पोखराको सौन्दर्यकरणमा लगानी गरिने आयोजकले जनाएको छ ।

पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन महोत्सव प्रभावकारी हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा विगतका वर्षहरुमा झै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिवल प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिनेछ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले नयाँ वर्षमा पोखरा आउने पर्यटक नठगिउन् भनेर आयोजक सचेत हुन आग्रह गर्नुभयो । रेवानका निर्वतमान अध्यक्ष चौबहादुर गुरुङ, पूर्व अध्यक्ष लक्ष्मण बराल लगायतले सडक महोत्सव पोखराको ब्राण्ड बनेकाले सबैको साथ र सहयोगबाट सफल बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...