पत्रकार त्रिभुवन पौडेल स्मृति अक्षय कोषमा रु एक लाख सहयोग

हिमाली आवाज । पोखराका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गरिएको अक्षयकोषमा रु एक लाख सहयोग रकम प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले समितिका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको कोषमा हाल जापान निवासी रामचन्द्र र सुशीला राईले सो रकम सहयोग गर्नुभएको हो ।

राई दम्पतीले प्रदान गर्नुभएको सो सहयोग रकम छोरी प्राप्ति राई र पत्रकार अपिल त्रिपाठीले महासङ्घ प्रदेश समितिका महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गर्नुभयो । पूर्वसञ्चारकर्मी राई हाल रोजगारीका सिलसिलामा जापानमा हुनुहुन्छ ।

पत्रकार पौडेलको गत वर्ष माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको थियो । पौडेल पत्रकार महासङ्घ प्रदेशको सल्लाहाकार तथा केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । राईले स्व.पौडेलको निधन भएको १३ दिनमै सो सहयोग रकम घोषणा गर्नुभएको थियो ।

महासङ्घ प्रदेश समितिले पौडेलको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थियो । कोषमा पत्रकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुबाट गरी हालसम्म रु चार लाख जम्मा भएको महासचिव सुवेदीले बताउनुभयो ।

यसैगरी प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ । पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको भवन निर्माण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले क्रियाशील र उर्जाशील पत्रकार पौडेलको अल्पायुमा भएको निधनले सञ्चार क्षेत्र अझै पनि मर्माहत भएको बताउँदै पौडेलका सपना पूरा गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । प्रदेश समितिका सदस्य सुनील पाण्डेले कोषको रकमबाट पत्रकारिता विकासमा खर्च गरिने बताउनुभयो ।

Comments
Loading...