रुख काट्नेलाई पोखरा महानगरले तिरायो जरिवाना

हिमाली आवाज । पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमति बिना काट्नेलाई जरिवना गरेको छ ।
पोखरा—८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसल महानगरको कारवाहीमा परेका हुन् ।

फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ ।

पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई रु १५ हजार का दरले जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु पाँच हजार र रुख नै काटेमा रु १५ हजार जरिवाना हुने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले आफ्नो चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममानै पोखरामा एक घर दुई बिरुवाको नीति लिएको छ । चालू वर्षमा दुई लाख विरुवा रोप्ने पनि घोषणा गरिएको छ । महनगरले वृक्षरोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गर्दै आएको छ ।

पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू रोपिएका छन् ।

‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’ को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानामा रहेका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम महानगरको छ ।

सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गर्नुभएको छ ।पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्तवपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि प्रमुख आचार्यले महानगरवासीमा आग्रह गर्नुभएको छ ।

Comments
Loading...