हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे« गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखी सुरु भएको छ । प्रतियोेगिता शनिबार सम्पन्न हुनेछ ।
गाउँपालिकाको आयोजनामा भएको यो पाँचौँ संस्करणको प्रतियोगितामा ११ माध्यमिक विद्यालयका ३ सय ८३ विद्यार्थी सहभागी छन् । प्रतियोगिता अन्तर्गत ३० खेल हुनेछन् ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले एक समारोहका बीच प्रतियोगिता उद्घाटन गर्नुभयो । उहाँले स्थानीय तहदेखीनै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।
बिहीबार मार्चपास, रिले दौड, भलिबल प्रतियोगिता भएको छ । प्रत्येक विधामा पहिलो हुने स्कुलले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेलाई ७ हजार पुरस्कार दिइने पालिकाले जनाएको छ । लाहाचोक स्थित महेन्द्र मावि खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिताबाट छनोट हुने खेलाडीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै प्रदेश र केन्द्रस्तरीयमा प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले हिमाली आवाजले जानकारी दिनुभयो ।