माछापुच्छ्रेको राष्ट्रपति रनिङ शिल्डमा पाँचौ पटक महेन्द्र च्याम्पियन

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड लगातार पाँचौ पटक लाहाचोकमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयले जितेको छ ।

गाउँपालिकाको केन्द्र समेत रहेको लाहाचोकमा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा यही मङ्सिर १४ देखी सुरु भएको पाँचौ संस्करणको प्रतियोगितामा महेन्द्र माविले प्रतियोगितामा सर्वाधिक ११ स्वर्ण पाँच रजत दुई कास्य गरी १८ पदक जित्दै च्याम्पियन बनेको हो । विसं २०७६ देखी सुरु प्रतियोगितामा महेन्द्र लगातार पहिलो हुँदै आएको छ ।

यसैगरी रिभानमा अवस्थित निस्पक्ष माध्यमिक विद्यालयले सात स्वर्ण छ रजत र तीन कास्य गरी १६ पदक जितेर द्धितीय बन्न सफल भयो । धम्पुसको उदय माध्यमिक विद्यालयले चार स्वर्ण, चार रजत र चार कास्य गरी १२ पदकका साथ तृतीय भयो ।

पाँचौँ संस्करणको प्रतियोगितामा एक संस्थागत र १० सामुदायिक गरी ११ माध्यमिक विद्यालयका तीन सय ८३ विद्यार्थीले ३० खेलमा सहभागिता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रत्येक विधामा पहिलो हुने विद्यालयलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रो हुनेलाई रु सात हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताबाट छनोट हुने खेलाडीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै प्रदेश र केन्द्रस्तरीयमा प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
स्थानीय तहदेखीनै देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुँदै आएको छ ।

Comments
Loading...