फेवाताल किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल हुँदै

हिमाली आवाज । पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँवर्षको अवसरमा पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको छ ।

पोखरा महानगरपालिका भलिबल सङ्घको आयोजनामा आगामी पुस १४ देखि १६ गतेसम्म फेवाताल किनार बसुन्धरा पार्कमा प्रतियोगिता हुँदैछ ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको आकर्षणको रुपमा सो प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा १२ वटा टिम सहभागी हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा पोखरा बाहिरका क्लब पनि सहभागी हुन पाउने र टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने सङघका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार १११ र उपविजेताले रु ७७ हजार ७७७ सहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

यसैगरी ‘बेष्ट सेटर’, ‘बेष्ट स्पाइकर’, ‘बेष्ट सर्भर’, ‘बेष्ट ब्लकर’, ‘बेष्ट डिफेन्डर’ले जनही रु तीन हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार सहित कप र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने विश्वास लिइएको बताउनुभयो ।

Comments
Loading...