हिमाली आवाज । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका—९ नयाँबजारमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तालाई उजुरी दिन आह्वान गरेको छ ।
सहकारीका सञ्चालक समितिका पदाधिकारीहरुले बचतकर्ताको निक्षेप हिनामिना गरी ठगी गरेको उजुरीको अनुसन्धान गरिरहेको प्रहरीले आज सार्वजनिक सूचना मार्फत अन्य पीडितहरुलाई समेत प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।प्रहरीले मुद्धाको हदम्यादलाई मध्यनजर गरी मङ्सिर २७ गतेभित्रमा जाहेरी दिन सूचनामा उल्लेख गरेको छ ।
सो सहकारीका बचतकर्ताहरुले आफूले जम्मा गरेको निक्षेप सहकारीबाट फिर्ता पाउन नसकेको र सञ्चालकहरु फरार रहेको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

मित्र मिलन सहकारी सञ्चालकले शेयरधनी र बचतकर्ताको रकम हिनामिना गरेको उजुरीका आधारमा थप पीडितको विवरण सङ्कलन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो ।
उहाँले भन्नुभयो,“मित्रमिलनमा बचतकर्ता रही सहकारीबाट बचत रकम फिर्ता नपाउनु भएको र प्रहरीमा जाहेरी दरखास्त दिन बाँकी रहनुभएका पीडित बचतकर्ताहरुलाई जाहेरी दिन सूचना प्रकाशित गरेका छौँ । पीडितले आफूले रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर,स्टेटमेन्ट, मुद्धती प्रमाणपत्र लगायत पीडितको परिचय खुल्ने कागजात सहित सहकारी ऐन शीर्षका जाहेरी दिन सक्नुहुनेछ ।”
सहकारी पीडितको उजुरीका आधारमा संस्थाका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारी प्रहरीको नियन्त्रणमा रहेका छन् । यसैगरी प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा पोखरा—२१ का वडाध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा सदस्य अर्जुन गिरी, सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी गरेको छ ।
बचतकर्ताहरुले जम्मा गरेको रकम नपाएपछि दिइएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा छानविन गरेको थियो ।