पोखरामा पहिलो पटक भोलीदेखी ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन

हिमाली आवाज । मुक्त फाउन्डेसनको आयोजनामा प्रथम पटक नेपालमा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

फाउन्डेसनले यही मंसिर २१ र २२ गतेका लागि पर्यटकीय नगरी पोखरामा सम्मेलनको आयोजना गरिने जानकारी गराएको हो ।
कार्यक्रममा नेपाल र भारत, दक्षिणपूर्वी एसिया र युरोप अमेरिकाबाट विभिन्न व्यक्ति र संस्थाहरुले सहभागिता जनाउने जनाइएको छ । विभिन्न देशबाट आएका र नेपालका सहभागीहरुले ३० वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा गण्डकी विश्वविद्यालय, त्रि–चन्द्र क्याम्पस (मानवशास्त्र विभाग), त्रिचन्द्र मानवशास्त्र समाजलगायत अन्य विभिन्न संघ तथा संस्थाहरुको सहकार्य रहेको छ ।

पोखरामा हुने उक्त कार्यक्रममा देशका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा सांस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध पाँच सयभन्दा बढि व्यक्तिहरु सहभागी हुने आयोजकको भनाई छ । सम्मेलनले नेपालको हिमाली पर्यावरण, हिमाली सभ्यता र संस्कृतिबीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक आध्यात्मिक ज्ञानको उन्नयन र विकासका पक्षमा नयाँ ढोका खोल्ने मुक्त फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले बताउनुभयो ।

सम्मेलनले नेपालको हिमाली क्षेत्रलाई प्राकृतिक र शाहासीक पर्यटनका अलावा आध्यात्मिक र धार्मिक अध्ययन तथा पर्यटनको एक केन्द्रको रुपमा थप विकास गर्न महत्वपूर्ण प्राज्ञिक आधार प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।

ऋग्वैदिक समाज र संस्कृतिका सकारात्मक पक्षहरुका सम्बन्धमा आम मानिसहरुका धारणा र मान्यतालाई पुर्नजाग्रित गर्न यो सम्मेलन कोशेढुंगा सावित हुने जनाइएको छ ।

Comments
Loading...