हिमाली आवाज । नेकपा(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताउनुभएको छ ।
अभियानका क्रममा आज साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका—२५ हेमजामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले राष्ट्रियता,सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताउँदै भन्नुभयो,“मरेर गएको राजतन्त्र फर्किदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो सङ्कल्प यात्रा हो । यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौँ।”
अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रियताको प्रश्नमा केही पनि नबोलेको जिकिर गर्नुभयो । उहाँले अहिले देशमा भ्रष्टाचार बढेको र विकास निर्माणको काम ठप्प रहेको दावी गर्नुभयो ।अध्यक्ष ओलीले अभियानका क्रममा देशका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गरेर जनताका समस्या र विकास निर्माणका आवश्यकताका बारेमा जानकारी लिने काम गरिरहेको बताउनुभयो ।
“देशभरिका जनतासँग प्रत्यक्ष भेटेर अव विकास कसरी गर्ने, कहाँको समस्या के छ ? भनेर तीन हप्ताको लगातारको यात्रा प्रारम्भ गरेका छौँ । एमालेप्रति जनताको आशा,विश्वास र भरोसा छ । त्यो भरोषा हामी टुट्न दिने छैनौँ, कायम राख्ने छौँ ।” अध्यक्ष ओलीले भन्नुभयो ।

एमालेलाई सरकारमा जान रोक्दा रोक्दै पनि एमाले सरकारमा पुगेर जनतालाई सुखी र खुशी बनाउन सम्भव छ भनेर प्रमाणित गरेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले आगामी दिनमा पार्टीले समाज परिर्वतनको नेतृत्व गर्ने बताउनुभयो ।
अभियानका क्रममा हालसम्म सदुुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जनताका समस्या लिइएको बताउँदै काठमाडौँमा पुगेर गम्भीर छलफल गरेर कसरी अघि बढ्ने भनेर नयाँ नीति तय गरिने अध्यक्ष ओलीले बताउनुभयो ।
एमाले अध्यक्ष ओली सहितको सङ्कल्प यात्राको टोलीलाई आज साँझ कास्की र पर्वतको सीमास्थल नयाँपुलमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो ।
कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्ग अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत गरियो भने हेमजामा स्वागत सहित सम्वोधनको कार्यक्रम राखिएको हो ।
यात्रामा रहेको टोली शुक्रवार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रममा सहभागी हुनेछ । सो टोली दिउसो रुपा गाउँपालिकाको पिपले बजारहुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो ।