पत्रकार श्रेष्ठलाई पत्रकारिता पुरस्कार,डा.थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

हिमाली आवाज । युआरएल पोखराले स्थापना गरेको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पोखराका अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

यसैगरी नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रा डा. बुद्धिबहादुर थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

पत्रकार महासंघ कास्की शाखाका निर्वतमान अध्यक्ष समेत रहनुभएका पत्रकार श्रेष्ठलाई शनिबार युआरएलको १० औं वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, यूआरएल फाउण्डेसनका अध्यक्ष ठाकुर प्रसाद पन्त लगायतले नगद ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभयो । पत्रकार श्रेष्ठ पोखराको एभरेष्ट मिडिया हाउसबाट सञ्चालित एभरेष्ट एफएम र एभरेष्ट आवाजको सम्पादक हुनुहुन्छ ।

अवार्डबाट सम्मानित प्राडा. थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुनुहुन्छ । उहाँले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थापक उपकुलपति भई काम गरिसक्नुभएको छ ।

यसअघि प्रादेशिक स्तरमा पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएकामा यसपटकदेखि फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रिय स्तरको बनाई प्रदान गरेको हो ।

यसअघि,स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्वारा गठित प्रतिभा छनोट समितिको उनीहरुको नाम छनौट गरेको थियो ।

गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

Comments
Loading...