हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आगामी फागुन पहिलो साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना हुने पोखराको ठूलो इभेन्टका रुपमा स्थापित म्याराथनको १८ औँ संस्करण आगामी फागुन ५ गते शनिबार हुँदैछ ।
पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो । यसको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता भइसकेको छ ।
सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमान चित्रमा स्थापित गराइ खेल पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई आयोजना गरिएको र पछिल्लो समय म्याराथनमा अन्तर्राष्ट्रिय सहभागिता वढेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो ।
पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो । विश्वका ठूला सहरमा आयोजना हुने म्याथन जस्तै पोखरा म्याराथन सधैँ चर्चामा रहेको अध्यक्ष पराजुलीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“म्याराथन आयोजनाले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको छ । पोखराको ठूलो मेगा इभेन्टका रुपमा स्थापित भएको छ, १८ औँ संस्करणमा ५० भन्दा बढी देशका धावक पोखरा आउने विश्वास लिएका छौँ ।”
म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरी तयारीमा जुटेको अध्यक्ष पराजुलीले बताउनुभयो । म्याराथनमा विदेशी धावकहरुको सहभागिता वृद्धि गर्नका लागि वैदेशिक समन्वय उपसमिति गठन गरी विदेशमा समेत प्रचारप्रसार गरिएको छ ।
संस्थाका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङले पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तिब्र पारिएको बताउनभुयो ।
उहाँले सडक सुरक्षा, खेलाडी व्यवस्थापन, स्वास्थ्य लगायत विभिन्न विषयमा तयारीका काम अघि बढाइएको छ ।
म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरि प्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ उपसमितिको संयोजक तोकिनुभएको छ ।
यसैगरी अनुगमन तथा निरीक्षण उपसमिति संयोजकमा द्धितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल र प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक रहनुभएको छ ।