‘आहा रारा पोखरा गोल्डकप’को २३ औँ संस्करण माघ ९ देखि

हिमाली आवाज । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३ औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ ।

सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल सङ्घबाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी सुरु गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिता पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन हुनेछ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा बर्सेनि हुँदै आएको प्रतियोगितामा यसपटक विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ ।

गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका रहेका थिए ।‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मन्त्रका साथ विसं २०५५ मा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीको रुपमा लिने गरिन्छ । आहा रारा गोल्डकप देशकै पुरानो मध्येको एक प्रतियोगिता हो ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले गर्दै आएको छ ।
यसैगरी उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ । म्यान अफ द म्याच ट्रफी, नगद र मेडल, सहारा युकेले सहयोग गर्ने महासचिव अधिकारीले बताउनुभयो ।प्रतियोगितामा बचत हुने रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

क्लबले विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत फुटबल प्रशिक्षण गर्दै आएको छ । क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गरी बालकहरुलाई फुटबल खेल सिकाउँदै आएको छ । हाल चौंथो व्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।

Comments
Loading...