हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्क विहिन भएका छन् ।
पदयात्राका क्रममा स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार विहानदेखी सम्पर्कविहिन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिबार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । मिचल एक्लै पदयात्रामा जानुभएको थियो ।

पदमार्गको लो क्याम्पमा माछापुच्छ«े गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा गत शुक्रबार उहाँले आफ्नो नाम दर्ता गर्नुभएको थियो ।
बेपत्ता पर्यटकको खोजीका लागि स्थानीय प्रहरी तथा पोखराबाट समेतप्रहरी टोली त्यसतर्फ शनिबार साँझनै प्रश्थान गरेको छ । “पर्यटक सम्पर्कविहिन भएको सूचना पाएपछि हामीले शनिबार साँझनै वडा प्रहरी कार्यालय बगरबाट प्रहरीलाई त्यसतर्फ पठाएका छौँ ।”प्रनाउ विकले भन्नुभयो,“ पोखराबाट गएको प्रहरी टोली अझै सो ठाउँमा पुगिसकेको छैन, टोली पुगेपछि खोजीमा लाग्नेछ ।”