हिमाली आवाज । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरी ठगी गरेको मुद्धामा सहकारीका पूर्व सञ्चालकसदस्यद्धय शिवबहादुर गुरुङ(महेन्द्र भोटे) र भविश्वर अर्याललाई पुर्पक्षका लागि आज कारागार चलान भएका छन् ।
सहकारी ठगी गरेको मुद्धामा कास्की जिल्ला अदालतमा मंगलबार बयान गराएर आज भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश वसन्तजङ्ग थापाको इजलासले दुवै जनालाई कारागार पठाउने आदेश गरेका हुन् ।
सहकारीका सञ्चालकहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको बचतकर्ताको जोहरीपछि कास्की प्रहरीले गत भदौ २५ गते उनीहरुका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसलगत्तै उनीहरु दुबैजना फरार थिए ।
पोखरामा गितेन्द्र (जीबी) राईको समूहले सञ्चालन गरेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सूर्यदर्शन सहकारीसम्बद्ध १९ जनाविरुद्ध रु एक अर्ब ११ करोड बिगो दाबी सहित अदालतमा मुद्दा दर्ता गरिएको छ । सो सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघिनै पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।


