टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल:एपिएफ र न्यू डायमण्ड फाइनलमा

हिमाली आवाज । सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्ड क्लबले पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष खुला भलिबल’ प्रतियोगिताको महिलातर्फ फाइनलमा स्थान बनाएका छन् ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा बिहीबार सम्पन्न सेमिफाइनलको खेलमा साविक विजेता एपिएफले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुबन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफले हालसम्म दुई पटक उपाधि हासिल गरी सकेको छ । एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट लगातार आफ्नो पक्षमा पार्न सफल भयो ।

एपिएफले २५–१३, २५–१६ र १५– १३ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गर्न सफल भयो । यसैगरी दोस्रो सेमिफाइलनल खेलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउन सफल भयो । न्यू डायमण्डले२५–१९, २५–१८ र २५–१८ ले नतिजा आफ्नो पक्षमा पार्दै एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको हो । यसैगरी पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

लिगको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेश विभागिय टोली त्रिभुबन आर्मी क्लबसँग ३–२ सेटले पराजित भए पनि सेमिफाइलन पुग्न सफल भयो । गत माघ १ गते खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेल आज सञ्चालन भएको हो । खेलमा पहिलो सेट २५–२० ले आर्मीले जितेको थियो । दोश्रो र तेश्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले आर्मीले जितेपनि प्रतियोगिताबाट बाहिरियो । गण्डकीले सेमिफाइनलमा सूमह बीको विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३–२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो ।

समूह बीबाट एपिएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार पुरुषतर्फ सेमिफाइलनका खेल हुनेछन् । पुरुषतर्फ हेल्प नेपाल र श्रीलंका आर्मी तथा दोश्रो खेल एपिएफ र गण्डकीका बिच हुनेछ प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिनुभयो । महिलातर्फ तृतीय स्थानका लागि त्रिभुबन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखी सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टोलीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । यसैगरी तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

Comments
Loading...