हिमाली आवाज । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुनुहुने भएको छ ।
यसैगरी प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ ।प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव अधिकारीले जानकारी दिनुभयो । पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पु¥याइएको उनले बताए ।
प्रेस चौतारी कास्कीले लामो समयदेखि बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो । चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो ।गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित हुनुभएको थियो । यस वर्ष सम्मानित हुन लाग्नुभएका मीना गुरुङ लामो समय सञ्चारकर्मममा योगदान गरी राजनीतिमा लाग्नुभएको हो ।
साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुनुहुन्छ । यस वर्ष पुरस्कृत हुन लागेका बराल दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहनुभएको छ ।उहाँ हाल नेपाल पत्रकार महासंघ कास्कीका सचिव हुनुहुन्छ । बरालले २०५९ सालबाट पत्रकारिता थालनी गर्नुभएको हो ।

गत वर्ष एकसाथ ५ पत्रकारहरु पुरस्कृत हुनुभएको थियो । २०७५ देखि २०७९ सम्मका पुरस्कारबाट क्रमशः अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत हुनुभयो ।
त्यसअघि, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत हुनुभएको थियो ।
यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ ।
उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन समिति, उपाध्यक्ष तारा पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । कोषाध्यक्ष गिरीधारी पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन भएको छ । कार्यसमितिका सबै सदस्यहरु उपसमितिहरुका सदस्य छन् ।