हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । पत्रकार महासंघको सभाहलमा आयोजना गरिएको डिजिटल साक्षरता तालिम सोमबार सम्म चल्नेछ । तालिममा अधिवक्ता सन्तोष सिग्देलले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता एवम् गलत तथा भ्रामक सूचनाका विषयमा प्रशिक्षण दिँदैछन् ।
पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिममा पोखराका क्रियाशिल पत्रकारहरुको उपस्थिति छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली मगरले समाजमा नकरात्मक सूचना भन्दा सकरात्मक विषयलाई उठान गर्नुपर्ने आवश्यकतालाई जोड दिनुभयो ।
महत्वकांक्षा आवश्यकता भन्दा बढी हुँदा सबै क्षेत्रमा समस्या आएको भनाई मन्त्री जुग्जालीको छ । “पेशा प्रतिको लगनशिलताले सफलता छ । पत्रकारितामा पनि ब्ल्याकमेल हुँदा सो क्षेत्रमा नकरात्मक प्रभाव परिरहेको छ । ” मन्त्री जुग्जालीले भन्नुभयो।

मन्त्री जुग्जालीले गण्डकी प्रदेशमा यातायातमैत्री कानून बनाउन आफुहरु लागिरहेको उल्लेख गर्नुभयो । यातायात क्षेत्रलाई सुदृढ बनाउन नीतिगत तहलाई सुधार गर्नुपर्ने आवश्यकता ठानेर काम भइरहेको जानकारी दिनुभयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम समय सापेक्ष भएको बताउनुभयो । कास्कीका पत्रकारहरुलाई सो सम्बन्धि तालिमको आवश्यकता ठानेर नै तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । तालिमले कास्कीका पत्रकारहरुको डिजिटल सक्षमता बढाउन मद्धत पुग्न भण्डारीले बताउनुभयो ।
प्रशिक्षक सिग्देलले डिजिटल साक्षरता पछिल्लो समय महत्वपूर्ण विषय भएको उल्लेख गर्दै अनलाइन मिडिया संचालन गरिरहँदा स्रोत सुरक्षाको आवश्यकतालाई समेत उठाउनुभयो ।डिजिटल लिटेरेसीको आवश्यकता रहेको बताउँदै उहाँले सामाजिक संजालको प्रयोगलाई डिजिटल साक्षरता भनेर बुझ्नु गलत भएको भनाई उहाँको छ ।
पत्रकार महासंघ कास्कीले कास्कीका पत्रकारहरुका लागि समयसापेक्षित तालिमहरु गर्दै आएको तालिम संयोजक महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले आगामी समय पनि महासंघले कास्कीको पत्रकारितालाई मर्यादित बनाउन तालिमको आयोजना गर्दै जाने उल्लेख गर्नुभयो ।