पोखरामा वैशाख १५ गते एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुँदै, तयारी सुरु

हिमाली आवाज । पोखरामा आगामी वैशाख १५ गते एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ ।
नेपाल ट्रायथोलन संघको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ । प्रतियोगिताको मिति आगामी अप्रिल २७ लाई अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारिक वेभसाईटमै राखिसकेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार च्याम्पियनसिप अन्तर्गत ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराईने छ । दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं— गौरीघाटमा पुगेर टुंगिने पुरानै रुटमा यथावत हुनेछ ।

च्याम्पियनसिपका लागि पोखरामा तयारी सुरु भएको छ । सोमबार साँझ पोखरामा संघका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुको बैठक बसेको थियो ।बैठकमा विगतका संस्करणहरु भन्दा यस पटक अझ भव्य बनाउने र तयारी सुरु गर्ने निर्णय गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन संघ र एशियन ट्रायथोलन एशोसिएसनका अध्यक्ष लगायत उच्चस्तरीय व्यक्तिहरुको सहभागिता हुने भएकाले भव्य हुने बताउनुभयो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी व्यवसायीले अपनत्व लिने गरी प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।

“एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनिसकेको छ । पोखराको प्रर्वद्धनका लागि च्याम्पियनसिले ठूलो भूमिका खेलेको छ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो,“पोखरामा ठूलो इभेन्ट हुने तर पोखरेलीको स्वामित्व नहुने अवस्था विगतमा थियो । तर यस वर्ष हामी त्यस्तो हुन दिँदैनौँ । विश्वका सम्पन्न देशले गर्ने भन्दा कुनै कमी च्याम्पियनसिपमा हुन दिँदैनौँ ।”

संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कोइरालाले पोखरा ट्रायथोलन च्याम्पियनसिपका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्ने बताउनुभयो । पोखरा सहित समग्र देशको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।विगतमा विभिन्न कठिनाईका बाबजुद निरन्तरता दिइएको च्याम्पियनसिपमा पछिल्लो समय प्रदेश तथा जिल्ला संघ बनेर अझै सहज रुपमा सम्पन्न हुने कोइरालाले बताउनुभयो ।

नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष सुमन देवकोटाले पछिल्लो संस्करणमा १८ देशका ५३ जना खेलाडीले प्रतिस्पर्धा गरेकाले ट्रायथोलन च्याम्पियनसिप पोखरामा हुने सबैभन्दा बृहत खेल इभेन्ट भएको बताउनुभयो । च्याम्पियनसिप भव्य बनाउनका लागि विगतका कमजोरीहरु सुधार गरिने उहाँले स्पष्ट पार्नुभयो ।

“विगतका कमजोरीहरु दोहोरिन दिँदैनौ र यस वर्षको प्रतियागिता अझै भव्य बनाउने छौँ ।” देवकोटाले भन्नुभयो । पोखरामा सन् २०११ मा पहिलो पटक बेगनास तालमा च्याम्पियनसिप भएको थियो । त्यसपछि सन् २०१२ देखी फेवातालमा प्रतियोगिता हुँदै आएको छ । कोरोना कहरका कारण दुई वर्ष च्याम्पियनसिप रोकिएको थियो ।
गण्डकीको कार्यवाहक अध्यक्षमा शिशिर
नेपाल ट्रायथोलन संघ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षमा डिल्लीराज सुवेदी(शिशिर) चयन हुनुभएको छ । संघका अध्यक्ष सुमन देवकोटा गत पुसमा सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि सुवेदीले गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।

कार्यवाहक अध्यक्ष सुवेदीको संयोजकत्वमा आसन्न एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपका लागि स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । कार्यवाहक अध्यक्ष सुवेदीले च्याम्पियनसिपको तयारीका काम सुरु भएको जानकारी दिनुभयो ।

गत पुस २१ गते ललितपुरमा भएको संघको साधारण सभाले केन्द्रीय अध्यक्षमा निलेन्द्रराज श्रेष्ठलाई निरन्तरता दिएको थियो । त्यसैगरी बरिष्ठ उपाध्यक्ष दीपक कोइराला , उपाध्यक्षद्धयमा सुमन देवकोटा र धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा सिर्जना त्रिपाठी निर्वाचित हुनुभएको थियो । संघको प्रथम बैठकबाट उपाध्यक्षमा प्रकाश बराल, केन्द्रीय सल्लाहकार प्रमुखमा विश्वशंकर पालिखे, केन्द्रीय सदस्यमा अनिता रानाभाट र मेडिकल कमिशन सदस्यमा डा उमेस पराजुली चयन हुनुभएको थियो ।

Comments
Loading...