हिमाली आवाज । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ ।महेन्द्रपुलस्थित साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका पाँच वटा संस्थाको रु ७० लाख लगानीमा निर्माण गरिएको झण्डा पार्क आज पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
महानगर प्रमुख धनराज आचार्यले झण्डा पार्कको एक समारोहका साथ उद्घाटन गर्नुभयो । पार्कमा संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियका गरी एक सय ९७ वटा झण्डाहरु राखिएका छन् ।
प्रत्येक देशको झण्डामुनि सो देशले संयुक्त राष्ट्र संघमा सदस्यता प्राप्त गरेको मिति समेत उल्लेख गरिएको छ । त्यसैगरी पार्कको विचमा ४० फिट अग्लो नेपालको झण्डा राखिएको छ ।
झण्डा पार्क पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्ने महानगर प्रमुख आचार्यले बताउनुभयो । विश्वका सवै देशका झण्डा एकै ठाउँमा राखेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने उहाँको भनाई छ ।
महानगर प्रमुख आचार्यले भन्नुभयो,“पोखरामा संसारभरिका पर्यटक आउँछन् । यहाँ आउँदा आफ्नो देशको झण्डा देख्दा उनीहरुलाई अपनत्व फिल हुन्छ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ ।”

झण्डा पार्क सामाजिक विषयका विद्यार्थीहरुका लागि समेत अध्ययनको गन्तव्य बन्न सक्ने बताइन्छ । महानगर शिक्षा शाखाले मातहतका सबै विद्यालयहरुलाई एक दिन सो पार्कमा विद्यार्थीहरुलाई अध्ययन अवलोकनका लागि लैजान आग्रह गर्ने भएको छ ।
सेती नदीको दृश्यावलोकन सहित पार्कमा पत्रपत्रिका अध्ययन गर्न सकिने भएकाले पर्यटकको बसाई अवधि बढाउन समेत पार्कले सहयोग पुग्ने महानगरले जनाएको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झण्डापार्कले विश्वका पर्यटकलाई आकर्षित गर्ने बताउँदै महत्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।
पोखरा आफैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको उहाँको भनाई छ । “झण्डा पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसंघको र लायन्स क्लबका संस्थापकको समेत सम्मान भएको छ ।” बुर्लाकोटीले भन्नुभयो ।
पोखरा महानगरपालिका –९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको लेकसाइड आउने पर्यटकहरू बजार क्षेत्रका रुपमा रहेको महेन्द्रपुलमा आउने र यसले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने बताउनुभयो ।
पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित सेती नदीको किनारमा सडकको दायाँ बायाँ रहेका पुराना भवनहरु भत्काएर झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरको हो ।