पोखरा –२१ का वडाध्यक्ष सुवेदी सहकारी प्रकरणमा धरौटीमा रिहा लगत्तै पुनः ठगी मुद्धामा पक्राउ

हिमाली आवाज । सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएपछि लामो समय फरार भएर आज अदालतमा उपस्थित भएका पोखरा वडा नं २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् । सहकारी मुद्धामा अदालतबाट धरौटीमा रिहा भएलगत्तै कास्की प्रहरीले उनलाई ठगी मुद्दामा पुनः पक्राउ गरेको हो ।

मित्र मिलन सहकारी ठगी प्रकरणका प्रतिवादी वडाध्यक्ष सुवेदी लामो समयसम्म फरार रहेकोमा थिए । सुवेदीलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा रिहा गर्ने आदेशपछि उनी पक्राउ परेका हुन् ।  शान्ति केसीको जाहेरीका आधारमा ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार बिकले बताउनुभयो ।

पोखरा नयाँबजारस्थित मित्रमिलन सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध पक्राउ पुर्जी काटिएकोमा हालसम्म अदालतले वडाध्यक्ष सुवेदीसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । मित्र मिलन ठगी मुद्धामा छ जना पुर्पक्षका लागि कारागारमा रहेकामा बाँकी सबै अहिलेसम्म पनि फरार छन् ।

Comments
Loading...