पोखरामा भोलीदेखी ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’ सुरु हुँदै

हिमाली आावज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा भोलीदेखी ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ ।
सूर्य नेपाल गल्फ टुर २०२३÷२४ अन्तर्गतको चौथो प्रतियोगिता पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फ सङ्घका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ४० हजार सहित ट्रफी पुरस्कार पाउनेछन् ।

उपविजेतालाई रु ९६ हजार र तृतीय हुनेलाई रु ७२ हजार, चौथो र पाँचौ स्थान प्राप्त गर्नेले क्रमश ः रु ५९ हजार र रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ भित्र पर्न सफल अन्य गल्फरले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको साविक विजेता रहनुभएका नेपालको पहिलो बरियताका गल्फ खेलाडी शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यसपटक सहभागी नहुने महासचिव आचार्यले बताउनुभयो ।

गत महिना धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागी हुन जानुभएको छ ।प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने र ५४ होलको हुने बताइन्छ । महासचिव आचार्यका अनुसार ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ शीर्ष व्यावसायिक खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् ।

एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेमात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने सङ्घले जनाएको छ ।

सूर्य नेपाल गल्फ टुुुर २०२३÷२४ अन्तर्गत कुल आठ आठ प्रतियोगिता सञ्चालन हुनेछन् । काठमाडौँ बाहिर हुने दुई प्रतियोगिता मध्ये एक वटा पोखरामा हुन लागेको हो । सबै प्रतियोगितामा गरी कूल ६५ लाख नगद पुरस्कार रहेको बताइन्छ ।

गण्डकी प्रदेश गल्फ सङ्घका अध्यक्ष इन्द्रधारा विष्टले गल्फ खेल धनीले मात्र खेल्ने खेल नभई इच्छाशक्ति हुने हुँदा सबैले खेल्न सक्ने बताउनुभयो । उहाँले प्रतियोगिताले पोखराको प्रवद्र्धन सहित खेल पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

Comments
Loading...