पोखरामा सुरु भयो ‘फेवा नव वर्ष महोत्सव’को रौनक

हिमाली आवाज । नेपाली नयाँवर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्धेश्यले पोखरामा फेवा नववर्ष महोत्सव सुरु भएको छ ।

महोत्सव यही वैशाख १ गतेसम्म सञ्चालन हुनेछ । पञ्चेबाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा आज महोत्सवको भव्य उद्घाटन गरिएको छ ।

नेपाली नयाँवर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल सङ्घ पोखराले १९ औँ संस्करणको महोत्सव आयोजना गरेको हो । यही वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सव पोखराको लेकसाइडको साढे तीन किमी सडकमा सञ्चालन हुनेछ ।

महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवा तालका विषयमा अदालतले गरेको ६५ मिटर सम्बन्धी फैसला कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले फैसला कार्यान्वयका लागि प्राविधिक पक्ष बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।
प्रमुख आचार्यले भन्नुभयो,“फेवा तालका सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नेछौँ साथै सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्नेछ ।”
पोखरा पर्यटनको राजधानी घोषणा भएको सन्दर्भ स्मरण गराउँदै प्रमुख आचार्यले यहाँका व्यवसायी र नागरिकको व्यवहार पनि पर्यटक मैत्री हुनुपर्ने बताउनुभयो । रातभरि सञ्चालन हुने रात्रिकालिन व्यवसायको लागि छुट्टै अनुमति लिनुपर्ने र आवश्यक मापदण्ड पूरा गरेका व्यवसायको हकमा स्टिकर वितरण गर्ने गरी महानगरले तयारी अगाडि बढाएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।

होटल सङ्घ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले रत्यौली, पञ्चैबाजा, भजनचुड्का र नेपाली खाना महोत्सव जस्ता आकर्षणलाई फेवा महोत्सवले समेटेको जानकारी दिनुभयो ।

स्थानीय ड्यामसाइडचोकदेखि खहरे चोकसम्म आयोजित महोत्सवमा पाहुनलाई होटलको विलमा २० प्रतिशतससम्म छुट प्रदान गरिने उहाँले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले संघ, प्रदेश तथा स्थानीय तीनै तहका सरकार र पर्यटन व्यवसायीको संयुक्त प्रयासमा आगामी वर्ष पोखरामा २० लाख पर्यटक भित्राउन सम्भव रहेको बताउनुभयो । उहाँले पर्यटन विकासलाई सबैले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सव उद्घाटन अघि निकालिएका झाँकी र र्याली खहरेचोक र ड्यामसाइडचोकबाट अम्मट पुगेका थिए । महोत्सवमा पर्यटक दौड, विभिन्न खानाहरुको विक्री तथा प्रस्तुती, नाचगानका कार्यक्रम, कन्सर्ट र नेपाली कला र संस्कृतिको प्रस्तुती समेटिएको आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

महोत्सवका आकर्षणहरुमा परम्परागत नेपाली खानाको प्रवद्र्धन,सांस्कृतिक झाँकीका कार्यक्रम,लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहसन र पर्यटक दौड प्रतियोगिता लगायत रहेका छन् ।

कोभिड–१९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेर होटल थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ ।

उद्घान समारोहमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाह, गण्डकी प्रदेशको उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालका सचिव कुमानसिंह गुरुङ, आयोजक संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराई, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, महोत्सवका सहसंयोजक दीपक श्रेष्ठ लगायतले नेपाली नयाँवर्षको अवसरमा आयोजना गरिएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभएको थियो ।

Comments
Loading...