पूर्वअर्थमन्त्री बरालबाट सिर्जना साहित्य सदनको सभाहल उद्घाटन

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको सिर्जना साहित्य सदनको नवनिर्मित सभाहल उद्घाटन गरिएको छ ।
साहित्य सदनले आज एक कार्यक्रमको आयोजना गरी सभाहल उद्घाटन, २६ औँ साधारणसभा तथा १३ औा अधिवेशन सम्पन्न गरेको हो ।
सभाहलको गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र) कास्कीका इन्चार्ज रामजी प्रसाद बराल(जीवन)ले उद्घाटन गर्नुभयो ।

सो सभाहल प्रदेश सरकारको रु १० लाख बजेटबाट निर्माण गरिएको थियो । त्यसैगरी भवनको पर्खाल निर्माण लगायतका लागि गाउँपालिकाले रु तीन लाख लगानी गरेको थियो ।

भवन उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री बरालले माछापुच्छ्रेका जनताको सुःख दुःखमा आफू सँधै साथमा रहेको बताउनुभयो । उहाँले माछापुच्छ्रे गाउँपालिकामा सडक, मोटरेवल पुल, पुल, सिँचाई, कृषि तथा पर्यटनका क्षेत्रमा आफ्नो कार्यकालमा नमूना योग्य काम भएको बताउनुभयो । बरालले भन्नुभयो,“ अहिले म जनप्रतिनिधि नभएपनि घाचोक र समग्र माछापुच्छ्रेको विकासमा जहिले पनि सहयोग गर्न तयार छु । आफूले सुरु गरेका विकासका कामहरुलाई पूर्णता दिनका लागि जहिले पनि हाजिर हुनेछु । ”

माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सिर्जना साहित्य सदनको पूर्वाधार निर्माण लगायतका अन्य साहित्यिक कार्यक्रममा पालिकाले सहयो गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले सिर्जनाको विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष हरिश्चन्द्र लम्साल, संस्थाका पूर्वअध्यक्षहरु महेश्वर पोखरेल, टेकनाथ पीडित, सल्लाहाकार सूर्यप्रसाद लम्साल, रविलाल पोखरेल लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिर्जना साहित्य सदनको विकासमा योगदान गर्नुहुने पूर्वमन्त्री रामजी प्रसाद बराल, बेदनिधि दवाडी, भानुभक्त पोखरेल र माछापुच्छ्रे वडा नं ३ को वडा कार्यालयलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष शिवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष एकदत्त लम्साल र सञ्चालन सचिव पदम नेपालले गर्नुभएको थियो ।

Comments
Loading...