पत्रकार रञ्जनलाई राष्ट्रिय संगीत अवार्डमा सम्मान गरिदै

हिमाली आवाज । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो ।

यही वैशाख ८ गते, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा अवार्ड समारोह हुने आयोजक संस्थाका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिनुभयो ।

अवार्डका विभिन्न २६ विधामा १ सय ३० जना संगीतकर्मी मनोनयनमा परेका छन् । हरेक विधाका ५ मनोनयनमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषीका गीतलगायतका विधाहरु समावेश गरिएको छ ।

सम्मानित हुन लाग्नु भएका  पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरी बिग एफएमका स्टेशन म्यानेजर समेत बन्नुभयो ।

गण्डकन्यूज र गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

इतिहास, व्यवस्थापन र आमसञ्चारका विद्यार्थी अधिकारी अहिले गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजन गर्दै आउनुभएको छ । उहाँ खेलकुद पत्रकार मञ्च, गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार संघ, गण्डकीका सल्लाहकार, प्रेस चौतारी कास्कीका सचिव हुनुहुन्छ ।

पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०७४, यातायात पत्रकारिता पुरस्कार २०७३ लगायत अन्य संघसंस्थाबाट अधिकारी सम्मानित एवं पुरस्कृत भइसक्नुभएको छ ।

Comments
Loading...