हिमाली आवाज । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले अहिले नेपालको अर्थतन्त्र सङ्कटमा नभएको बताउँदै उहाँले उद्योगी व्यवसायीको र लगानीकर्ताको मनोवल वृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल उद्योग व्यापार महासङ्घ गण्डकी प्रदेशको दोस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रलाई चलायमान बनाउने खालका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो ।
“नेपालको अर्थतन्त्र कहिल्यै पनि सङ्कटमा छैन, विविध कारणले व्यापार व्यवसाय चलायमान बन्न नसकेको मात्र हो । ”मन्त्री चुमानले भन्नुभयो,“प्रदेश सरकारले आगामी वर्षका कार्यक्रममा निजी क्षेत्रको आत्मवल वृद्धि गर्ने र आर्थिक सुधारका कार्यक्रम ल्याउने छौँ ।”
आर्थिक मामिलामन्त्री चुमानले पूँजीगत खर्च वृद्धि गर्नका लागि आगामीवर्षदेखी प्रदेश सरकारका योजना कार्यक्रमलाई भदौ पहिलोसातादेखीनै कार्यान्वयनमा लैजाने बताउनुभयो ।

आर्थिकवर्षको अन्त्यतिर आएर बल्ल कार्यान्वयन प्रक्रिया सुरु गर्ने, योजनाहरुलाई बहुवर्षिय बनाउने लगायतका कामका कारणले पूँजीगत खर्च कमजोर बनेको उहाँले जिकिर गर्नुभयो ।
नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले उद्योग व्यापार र उत्पादनमा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि स्थानीयस्तरमा उत्पादित वस्तुहरुको व्यापारको प्रत्सोहन र उचित मूल्य सहितको बजार व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजी प्रसाद बरालले करको दर दर कम गरी दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो । उहाँले राज्य प्रणाली सही भएपनि सो अनुसारको शासकीय स्वरुप नहुँदा आसातित आर्थिक विकास हुन नसकेको उल्लेख गर्नुभयो ।
महासङ्घ गण्डकीका अध्यक्ष जनकराज पराजुलीले प्रदेशका उद्योगी व्यवसायीहरुको पेशागत हकहित र अधिकारका लागि विभिन्न तहका सरकारसँग महासङ्घले आवाज उठाउँदै आएको र व्यवसायीहरुको वृत्ति विकासका लागि सीपमुलक तालिमहरु आयोजना गरिएको बताउनुभयो ।
साधारणसभाको उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइराला, संस्थाका उपाध्यक्ष अर्जुन चोखाल, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतका वक्ताहरुले साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो । साधारणसभामा अध्यक्ष जनक पराजुली, महासचिव गोविन्द बहादुर थापा र कोषाध्यक्ष गोकुलप्रसाद कँडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।