ऋषि बराल, हिमाली आवाज । पोखरा बजारको मध्य भाग भएर बग्ने सेती नदीको संरक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को ध्यानाकर्षण गराइएको छ ।
सेती नदी संरक्षण अभियानका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री दाहालसँग भेट गरी मानवीय दोहनले कुरुप बनेको नदीको दीर्घकालीन संरक्षणका लागि माग गरेको हो ।
अभियानका अध्यक्ष हेम पौड्यालले सेती नदीको वर्तमान दुरावस्था बारे जानकारी गराउँदै सेती नदीको सीमाङ्कन, नदी संरक्षण तथा व्यवस्थापनका लागि गुरु योजनाको निर्माण, नदीमा आठ देखी १० स्थानमा चेक ड्याम निर्माण गर्न माग गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“पवित्र सेती नदी अहिले मानविय कारणले अत्यन्त कुरुप बन्दै गएको छ । सेतीमा बर्षौदेखि हुँदै आएको नदीजन्य पदार्थको उत्खनन् र किनारामा बढदै गईरहेको मानव वस्तीका कारण नदीको प्राकृतिक वहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन् गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरी तरिकाले दोहन बढेपछि नदीको सिमाङ्कन गरेका हौँ ।”
नदी गहिरिदै गएको र नदीको बहावको तिब्रता बढेको कारण बर्षातमा आसपासका नीजि र सार्वजनिक जमिनको क्षयिकरण हुँदा करोडौको लागतमा बनेका पुलहरु, अन्तिम संस्कार गरिने घाटहरु समेत क्षतिग्रस्त भएको अभियन्ता पौडेलले बताउनुभयो ।
यसैगरी कोत्रेदेखी नदीको मुहानसम्म दुवै किनारामा हरित पैदल तथा साईकल मार्ग बनाउन र नदीको दुवै किनारामा बृक्षरोपण तथा चौताराहरु निर्माण, नदीमा बिसर्जन भइरहेको फोहर अविलम्ब रोक लगाउनुपर्ने माग समितिको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखरा भएर बग्ने सेती नदीका बारेमा चासो राख्दै संरक्षणका लागि पहल गर्ने विश्वास दिलाउनुभएकाृ थियो ।
प्रधानमन्त्रीले नदी संरक्षणको अभियानमा जुटेका समुदायलाई धन्यबाद दिनुहुदै सरकारले यो बिषयमा सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको समितिका सदस्य भुवनेश्वर पोखरेलले बताउनुभयो ।
यसैगरी अभियानको टोलीले जलश्रोत तथा सिचाई विभागका महानिर्देशक सञ्जीव बराललाई समेत भेट गरी नदीको सीमाङ्कन, गुरुयोजना लगायतका बिषयमा छलफल गरेको थियो ।