रुपाको बजेट ४६ करोड ७६ लाख, ‘किसानको हात गाउँपालिकाको साथ’ कार्यक्रम

हिमाली आवाज । कास्की जिल्लाको रुपा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि रु ४६ करोड ७६ लाख ८२ हजारको बजेट कार्यक्रम ल्याएको छ ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार १५ औँ गाउँ सभामा आगामी वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्नुभयो । गाउँपालिकाले कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

गाउँपालिकाले ल्याएको बजेटमा चालुतर्फ रु ३१ करोड ९४ लाख ५७ हजार र पूँजीगततर्फ रु १४ करोड ८२ लाख २५ हजार विनियोजन गरिएको छ ।

बजेटमा ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा राखिएको छ । ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

‘एक घर एक मौरी घार’ कार्यक्रमका लागि रु ५२ लाख विनियोजन गरिएको छ ।रुपा गाउँपालिकाले चालू आर्थिक वर्षदेखी एक घर एक घार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

किसानलाई न्यूनतम मूल्यमा घार वितरण गरी रुपाका सबै घरलाई एक घर एक घार अभियानमा जोडेर आगामी वर्षमा कम्तीमा २५ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ मह उत्पादन वृद्धि गरी रुपालाई मौरी पालनको हब बनाउने र यहाँ उत्पादित महलाई ब्राण्डिङ गरी बजारिकरणको उचित व्यवस्थापन गर्नेछौँ ।”

बजेट कार्यक्रममा कटहर खेतीलाई प्रोत्साहन गदै व्यवसायिक बनाउन कार्यक्रम सञ्चालन गर्ने, किसानको खेतीको सुरक्षाका लागि बाँदर नियन्त्रणको उपाय खोजी गर्ने,युवाहरुलाई उद्यमी बनाई स्वरोजगार बनाउने लगायतका रहेका छन् ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु एक करोड बजेट छुट्टाइएको छ । रुपाकोट अस्पताल भवन निर्माणका लागि रु ५० लाख, गाउँपालिकाको वडा नं १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो स्तरोन्नतिका लागि रु दुई करोड ९० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले आगामी वर्षका लागि आर्थिक विकास तर्फ रु तीन करोड ८९ लाख ६२ हजार, सामाजिक विकासतर्फ रु २३ करोड ३० लाख, पूर्वाधार विकासतर्फ रु १० करोड ५० लाख, कृषि तथा पशु सेवाका लागि रु दुई २ करोड ३२ लाख ६२ हजार बिनियोजन भएको छ ।

Comments
Loading...