सहकारी ठगीमा संलग्नलाई कारवाही हुनुपर्दछ:अध्यक्ष नेपाल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तत्काल परिर्वतन हुने सम्भावना नरहेको बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेकपा(एमाले र नेपाली काँग्रेस दुई ठूला शक्ति मिलेर बनेको सरकार भएकाले अन्य दलले सरकार परिर्वतनको चाहना राखेपनि पूरा नहुने बताउनुभयो ।

“नेपालको राजनीति नेपालको मौसमजस्तो छ, मौसमको बारेमा कुनै पूर्वानुमान गर्न सकिदैन, त्यस्तै राजनीतिको पूर्वानुमान गर्न पनि गाह्यो छ । तर भ्रम नपाल्नुहोला केही परिर्वतन हुने वाला छैन । यो सरकार दुई ठूला पार्टी मिलेर बनेपछि पूरा चल्छ, हामीले भनेर केही हुँदैन । ” अध्यक्ष नेपालले भन्नुभयो

सरकारले जनताका पीडा र वेदनालाई सम्वोधन गरेर देशमा विद्यमान समस्या समाधानका लागि इमानदार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्र र जनताको हितका लागि एकीकृत समाजवादीको मुख्य जोड रहने अध्यक्ष नेपालले बताउनुभयो ।

अध्यक्ष नेपालले सहकारी अपचलनमा संलग्न जो सुकैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“दोषीहरु कसैले उन्मुक्ति नपाउन्, निर्दोशीहरु कोही पनि नफसुन्। राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ । ”

एकीकृत समाजवादी पार्टीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको बताउनुभयो । विचार मिल्ने शक्तिहरुसँवग मोर्चा बनाएर मिलेर जान तयार रहेको भने उहाँले स्पष्ट पार्नुभयो ।“विषयवस्तुमा सहकार्यमा गरेर अघि बढ्न तयार छौँ । अरु पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन ।” नेपालले भन्नुभयो ।

Comments
Loading...