सञ्चारमन्त्रीले पोखरामा लिनुभयो राष्ट्रिय परिचयपत्र

हिमाली आवाज । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय परिचयपत्र देशमा सुशासन कायम गर्न महत्वपूर्ण आधार बन्ने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्दै उहाँले आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई ‘सुपर सिटिजनसीप’का रुपमा समेत लिनुपर्ने बताउनुभयो । सरकारले हालै अध्यादेश मार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रवन्ध गरेका छौँ । सुशासनका लागि समेत महत्वपूर्ण पाटो हो ।”

सरकारले बैँकिङ कारोवार, राहदानी तथा मालपोतका लागि समेत राष्ट्रिय परिचयपत्रलई मुख्य आधार मान्ने बताउनुभयो ।
“राष्ट्रिय परिचयपत्र उच्च प्रविधियुक्त भएकाले आधुनिक र भरपर्दो रहेको छ । यसमार्फत धेरै काम हुन्छ । बायोेमेट्रिक प्रणालीमा चल्ने भएकाले तलमाथि चोरी गर्न नसकिने खालेको छ । नागरिक एपमा प्रयोग गर्दा समेत यसलाई आधार मान्छौँ ।” सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा हालसम्म दुई लाख सात सय १६ राष्ट्रिय परिचयपत्र प्राप्त भएकामा स्थानीय तहका वडा कार्यालयहरु मार्फत ७५ हजार सात सय १८ जनालाई वितरण गरिएको बताउनुभयो । उहाँले प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन गर्ने कार्य समेत सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

Comments
Loading...