हिमाली आवाज । पोखरामा जारी प्रथम ‘लायन्स कप’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली इरानको टिम भिड्ने भएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न सेमिफाइनलका आआफ्नो खेल जित्दै यी दुई टोली उपाधि नजिक पुगेका हुन् ।सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।

दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो ।
यसअघि भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान बनाएको थियो ।
पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो ।इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौथो सेट २६–२४ को पुनरागमन जित दर्ता ग¥यो । चौथो सेटमा १८–२१ को अवस्थालाई उल्टाउँदै इरानी टोलीले २६–२४ को जित निकाल्न सफल रहेको थियो ।
यसैगरी तेस्रो स्थानका लागि र फाइनल खेल सोमबार हुनेछ । तेस्रो स्थानका लागि आर्मी र एपिएफबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख ४४ हजार ४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । तेस्रो हुने टोलीले रु एक लाख ४४ हजार ४४४ पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई रु १४ हजार चार सय ४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान रु आठ हजार चार सय ४४ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । यही वैशाख १८ गतेदेखी सुरु भएको प्रतियोगितामा छ टोलीले सहभागिता जनाएका थिए ।