हिमाली आवाज । सरकारले नेपाल राष्ट्र बैँकको गर्भनरमा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको छ ।मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनका नेकपा(एमाले) र नेपाली(काँग्रेस)बीचको निकै रस्साकस्सी बीच केन्द्रीय बैंकले १८ औं गभर्नर पाएको छ ।
केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको करिब डेढ महिनापछि नयाँ गभर्नर नियुक्त गरिएको हो । सत्ताका प्रमुख घटक नेपाली काँग्रेस र एमालेबीच कसलाई गभर्नर नियुक्त गर्ने भन्नेमा निकै रस्साकस्सी चल्दा प्रक्रिया लम्बिएको थियो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ धिताल पौडेलको पुर्खेयौली घर हो । पौडेलका बुबा विसं २०१८ तिर धितालबाट चितवन बसाई सरेका थिए । त्यस बेला धितालमा पानी र सडकको अभाव पछि पौडेलका बुबा सुविधा खोज्दै तराई झर्नुभएको थियो । पौडेलको जन्म भने चितवनमै भएको हो ।
गभर्नरका रुपमा नियुक्त पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालीफोर्नियाबाट विद्यावारिधी गर्नुभएको छ । पौडेलको विषय विज्ञता अर्थशास्त्रका अलावा कृषिस्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासमा छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि उहाँसँग छ ।