माछापुच्छ्रे माविका प्रधानाध्यापक आचार्यलाई गण्डकी प्रदेश उत्कृष्ट प्रअको सम्मान

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा रहेको माछापुच्छ्रे माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य गण्डकी प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक घोषित हुनुभएकोछ ।प्रिन्सिपल एशोसिएसन नेपालले उहाँलाई प्रदेशको उत्कृष्ट प्रअको रुपमा नगद रु १० हजार सहित सम्मान गरेको हो ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री रघुजी पन्तले शुक्रबार प्रअ आचार्यलाई सो सम्मान प्रदान गर्नुभयो । आचार्यले गत वर्ष नगद रु ५० हजार राशीको “पी.पी. प्रसाईं उत्कृष्ट शिक्षक पुरस्कार” समेत प्राप्त गर्नुभएको थियो ।

उहाँले पुरस्कार बापतको रकमबाट माछापुच्छ्रे माविको ‘शिक्षक–कर्मचारी उत्प्रेरणा अक्षयकोष’ स्थापना गर्नुभएको छ । यस वर्ष प्राप्त रु १० हजार राशी पनि सोही अक्षयकोषमा समर्पित गर्ने प्रअ आचार्यले हिमाली आवाजलाई जानकारी दिनुभयो । उत्कृष्ट प्रअ सम्मानले थप हौसला मिलेको आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो सम्मान मेरो व्यक्तिगत उपलब्धिभन्दा पनि म कार्यरत माछापुच्छ्रे माध्यमिक विद्यालयको समग्र शैक्षिक प्रयास र प्रगतिको प्रतिफल हो भन्ने मेरो दृढ विश्वास छ । शिक्षा क्षेत्रको सुधार र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको साझा लक्ष्यमा यहाँहरू सबैको साथ, सहयोग र सद्भावले मलाई अझ प्रेरित र उत्साहित बनाएको छ।”

Comments
Loading...