हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. १२ स्थित ऐतिहासिक तथा शैक्षिक दृष्टिले अग्रणी अमरसिंह माध्यमिक विद्यालयको गेट तथा नयाँ भवन निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ ।सोही वडाका वडाध्यक्ष सन्तोष बास्तोलाले विधिवत रूपमा भवन निर्माण कार्यको शिलान्यास गर्नुभयो ।
सो अवसरमा वडाध्यक्ष बास्तोलाले अमरसिंह विद्यालय क्षेत्रको एक महत्वपूर्ण शैक्षिक संस्था भएकाले यसको भौतिक पूर्वाधारको सुधार अत्यावश्यक रहेको बताउनुभयो । “गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्न भौतिक संरचना सुदृढ हुनु आवश्यक छ, यो सिल्यानास त्यसैको आधारशिला हो ।” बास्तोलाले भन्नुभयो ।

वडाध्यक्ष बास्तोलाले आगामी दिनहरूमा पनि वडा भित्रका अन्य विद्यालयहरूमा समेत पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक पहलहरू निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यक्रममा सहभागी भई वडाध्यक्षलाई विद्यालय विकासमा देखाइएको सक्रिय भूमिकाको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
नयाँ गेट र भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने र विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास गरिएको छ । गेटको निर्माणले विद्यालयको पहिचानलाई सुदृढ पार्नेछ भने भवनले शिक्षण सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।