हिमाली आवाज । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेटको उपाधिका लागि आज नवलपुर र स्याङ्जा भिड्दै छन् ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नवलपुरले कास्कीलाई पाँच विकेटले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर फाइनलमा स्थान बनाएको हो । यससँगै नवलपुरले अब उपाधिका लागि आज शुक्रबार समूह ‘ए’ को विजेता स्याङ्जासँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘बी’ मा नवलपुर, कास्की र पर्वतले समान दुई÷दुई खेल जित हात पारेर समान चार÷चार अङ्क भएपनि ‘रन रेट’का आधारमा नवलपुर शीर्षस्थानमा उक्लदै फाइनलमा पुगेको हो ।खेलमा कास्कीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४८ रन बनायो ।
कास्कीका लागि मुस्कान थापाले ३६ रन, रोहित चन्दले ३५ रन र कप्तान सुवास भण्डारीले अविजित ३७ रनको योगदान दिए । नवलपुरका काशिस सुवेदी र हिमाल न्यौपानेले दुई÷दुई विकेट लिए भने सुदीप अर्यालले एक विकेट लिए ।

जितका लागि एक सय ४९ रनको लक्ष्य पछ्याएको नवलपुरले १५ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । अपराजित पौडेलले २० बलमा तीन चौका र तीन छक्का सहित अविजित ३३ रन बनाएर जित सुनिश्चित गराएका थिए ।
यसैगरी रिजन काफ्ले ३७, सुदीप अर्यालले २१ र कमल परियारले छ बलमा १७ रनको उत्कृष्ट योगदान दिए । कास्कीका कृष्ण पौडेलले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा चार विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ नवलपुरका अपराजित पौडेल घोषित भए ।
यसैगरी आजनै सम्पन्न लिग चरणअन्तर्गत पर्वत र गोरखाबीचको खेलमा पर्वत विजयी भएको छ । पर्वतले ४९ रनले गोरखालाई हराउँदै सान्त्वना जित निकाल्न सफल भयो ।
टस जितेर गोरखाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्वतले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ४८ रनको योगफल तयार गर्यो । खेलमा जितका लागि एक सय ४९ रनको लक्ष्य पछ्छाएको गोरखाले १७ ओभरमा ९९ रन मात्र बनाउन सफल भयो ।
प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु दुई हजारसहित ट्रफी प्रदान प्रतियोगिताका संयोजक ऋषिराम गौतमले बताउनुभयो ।