हिमाली आवाज । अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ४५ करोड ३७ लाख १० हजार ६५३ रुपियाँ बजेट प्रस्तुत गरेको छ ।
बिहीबार गाउँसभाको १७ औँ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले चालु खर्च तर्फ ३२ करोड सात लाख २० हजार अर्थात ७०.६८ प्रतिशत र पूँजितग तर्फ १३ करोड २९ लाख ९० हजार ६५३ रुपियाँ अर्थात २९.३२ प्रतिशत अनुमानित आय ब्याय प्रस्तुत गर्नु भएको हो ।
बजेटमा राजश्व बांडफांड तथा आन्तरिक श्रोततर्फ १३ करोड २७ लाख २१ हजार ६५३ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ३२ करोड ९ लाख ८९ हजार प्राप्त हुने लक्ष्य लिइएको छ । गण्डकी प्रदेशमा आगामी वर्षको बजेट ल्याउने पहिलो पालिका अर्जुनचौपारी बनेको छ ।
अधिबेशनले यस बर्षको बजेटमा समेत सडक, शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिकाले गाउँपालिकाको सदरमुकाम देखि सबै वडा कार्यालयहरु पक्की सडकले जोड्ने उद्देश्यले संघ र प्रदेशसगँ साझेदारी गर्ने गरी बजेट बिनियोजन गरिएको छ ।
यस्तै यहाँका मुख्य सडकको स्तरोन्नतिका साथै पालिकाको सदरमुकामसम्म जोड्ने अर्जुनचौपारी–पहुँमार्ग सडकको लागि सात करोड बजेट सुनिश्चित गरिएको छ । स्वास्य, शिक्षा, वन वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता राख्दै पालिकाले एक करोड १८ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकामा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रबाट प्रदान गरिएका सेवाहरुमा थप विस्तार गर्नका लागि १० लाख विनियोजन गरिएको छ । विपन्न नागरिकको जीविकोपार्जन सुधार तथा आय वृद्धिका लागि बिउपूँजि कार्यक्रममा १० लाख र आमा समूहबाट माग भई आएका योजना तथा मागमा आधारित कार्यक्रमका लागि एक करोड बजेट बनियोजन गरिएको छ ।
यस्तै नेपालकै पहिलो नवग्रह मन्दिर र मुक्तिनाथधाम जोड्ने छोटो दुरीको अर्जुनचौपारी–आग्रीखर्क–पर्वत–बाग्लुङ हुँदै मुक्तिनाथ सम्मको सडक निर्माण तथा स्तरोन्नतिको लागि प्रदेश सरकारको साझेदारीमा चार करोड बजेट बिनियोजन गरिएको छ ।
युवालाई खेलप्रति आकर्षित गर्न, प्रतिभाको पहिचान गर्न र खेल क्षेत्रमार्फत् पर्यटनको प्रवद्र्धन गर्न आगामी वर्ष अर्जुनचौपारी गाउँपालिका वडा नं–५ स्थित थाप्ले क्रिकेट मैदानमा स्तरोन्नति तथा प्रदेशस्तरीय गण्डकी टी–टेन क्रकेट लिगको आयोजनाको लागि
२० लाख विनियोजन गरिएको छ ।
मृगौला प्रत्यारोपण गरेका डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधी उपचार खर्चका लागि बजेटको व्यवस्था गरिएको छ ।