पोखरा महानगर–५ को करोडौँ लगानीमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण

हिमाली आवाज । कास्कीको पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको छ ।
महानगरको रु चार कराडे ६४ लाख लागतमा वडाको चार तलाको भवन निर्माण गरिएको हो ।

भवनको भूमिगत तलामा पार्किङ, पहिलो तलामा प्रशासन, लेखा, दर्ता चलानी, दोस्रो तलामा जनप्रतिनिध र सचिवको कार्यकक्ष तेस्रो तलामा पुस्तकालय र तालिम कक्ष साथै चौथो तलामा सभाहल राखिने वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिनुभयो ।

वडाध्यक्ष बरालले सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सजिलो हुने बताउनुभयो । “साँघुरो र जीर्ण भइसकेको भवनबाट नागरिकलाई सेवा दिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । भवन अनुसार स्तरीय सेवा वडावासीलाई दिनेछौँ । बरालले भन्नुभो ।

वडाध्यक्ष बरालका अनुसार वडा कार्यालय भवन निर्माणका लागि विसं २०७९ माघ २३ गते निर्माण कम्पनी अमित÷एसवी जेभी पोखरा– ५ संग सम्झौता भएको थियो ।

विसं २०८२ वैशाखमा सम्पन्न गर्नुपर्ने गरी भएको सम्झौता बमोजिमनै निर्माण कम्पनीले तोकिएको समयभित्रमा भवन निर्माण सकेको हो ।
भवन निर्माणका लागि रु सात करोड २६ लाख ६४ हजार ६२३ लागत अनुमान गरिएकामा रु चार करोड ८४ लाखमा निर्माण सम्झौता थियो ।
निर्माण कम्पनीलाई रु चार करोड ६४ लाख ८५ हजार भुक्तानी दिइएको पोखरा महानगर भवन शाखाका प्रमुख वरिष्ठ ई लक्ष्मी प्रसाद गौतमले जानकारी दिनुभयो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरका ३३ वटा वडा मध्ये अब दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको बताउनुभयो । पोखरा–९ र वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्न बाँकी छ ।

प्रमुख आचार्यले आफ्नै भवन निर्माण बाँकी रहेका दुई वडाको भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने र पोखरा महानगरको आफ्नै प्रशासनिक भवनको समेत चालु आर्थिक वर्षमानै शिलान्यास गर्ने योजना महानगरको रहेको उल्लेख गर्नुभयो ।

Comments
Loading...