गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि स्याङ्जालाई

हिमाली आवाज । पोखरामा आयोजना भएको गण्डकी प्रदेशस्तरीय टी –२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जा जिल्लाले जितेको छ । यससँगै स्याङ्जाले लगातार दोस्रो पटक उपाधि चुम्न सफल भयो ।

प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा कास्की जिल्लालाई सात विकेटले हराउँदै स्याङजाले नगद रु एक लाख सहित ट्रफी र मेडल पुरस्कार पायो । उपविजेता कास्कीले रु ५० हजारमा चित्त बुझायो ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित २० ओभरको खेलमा १६ ओभरमा ‘अलआउट’ हुँदै जम्मा ५६ रनमात्रै बनाउन सकेको थियो । उपाधि जित्न्का लागि ५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १० ओभरको तेस्रो बलमा लक्ष्य भेट्टायो ।

स्याङजाका लागि सिमाना केसीले १७ रनको ‘अविजित’ पारी खेलिन् । उनले २२ बलमा एक चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा ‘अविजित’ रहिन् । उनले १३ बलमा एक चौका प्रहार गरिन् । ओपनर श्रेया शाह पाँच, सलिना सेन छ, ज्योत्सनिका मरासिनी छ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान एक÷एक विकेट लिए ।

कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ‘ब्याटर’ले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा दुई चौका र एक छक्का हानिन् । रचनाले २५ बलमा दुई चौका प्रहार गरिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले तीन ओभरमा छ रन खर्चेर सर्वाधिक चार विकेट लिइन् । सिमाना केसीले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिइन् ।

स्याङजाकी सिमाना केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको ‘वुमन अफदी म्याच’सँगै उत्कृष्ट बलर समेत घोषित भइन् ।
कास्कीका सिर्जना पौडेल उत्कृष्ट ‘ब्याटर’ र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । यही असार १८ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वत जिल्लाको सहभागिता रहेको थियो ।

Comments
Loading...