हिमाली आवाज । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजनामा आउँदो भदौ ६ गतेदेखि १५ गतेसम्म पोखराको पुरानो टुडिखेलमा तेस्रो एतिहासिक तीज महोत्सव आयोजना गरिने भएको छ।
महोत्सवको सफल आयोजना तथा व्यवस्थापनको लागि आज आयोजित भेलाले मूल आयोजक समिति गठन गर्दै भानुभक्त अधिकारीलाई समिति संयोजक (अध्यक्ष) को जिम्मेवारी दिने निर्णय गरेको छ।

महोत्सवको उद्देश्य नेपाली परम्परागत तीज संस्कृतिको संरक्षण, प्रवद्र्धन, तथा स्थानीय कला–संस्कृति र व्यवसायलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ। महोत्सवमा सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, नृत्य, बाल–कला प्रस्तुति, महिला सशक्तिकरण कार्यक्रम तथा विभिन्न आकर्षक प्रदर्शनीहरू रहनेछन्।
संयोजक अधिकारीले महोत्सवलाई सफल बनाउन सबै स्थानीय निकाय, संघसंस्थाहरू, वडावासी, युवा क्लब, महिला समूह र पोखरावासीको सक्रिय सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ। महोत्सवका विस्तृत कार्यक्रम र उपसमिति विवरण चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।