हिमाली आवाज । पोखरा महानगरपालिका– ४ बुद्ध विशाल बजारमा रहेको विशाल बचत तथा ऋण सहकारी संस्था लि स्थापनाको २५ वर्ष पूरा गरेको छ ।
वि.सं. २०५७ भाद्र ११ गते तत्कालिन सहकारी डिभिजन कार्यालय कास्कीमा दर्ता भएको दिनलाई स्थापना दिवसको रुपमा संस्थाले विगतबाट मनाउँदै आएको सन्दर्भमा बुधबार रजत जयन्ती मनाइएको सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले बताउनुभयो । सो अवसरमा पोखरा–१८ स्थित राष्ट्रिय विभूति पार्क परिसरमा बृक्षारोपण एवम् चौतारी पूनर्निर्माणको कार्य सम्पन्न गरिएको छ ।
वृक्षारोपण तथा चौतारी पुर्ननिर्माण कार्यक्रममा कास्की बचत संघका अध्यक्ष शेर बहादुर कार्कीले विशाल बचतले २५ वर्षदेखि संचालन गर्दै आएका असल अभ्यासहरुको सबै बित्तिय सहकारीहरु अनुसरण गर्न जरुरी रहेको बताउनुभयो ।
सहकारी बैंकका प्रदेश प्रमुख नरेश पाण्डेले सहकारी संस्थाहरुले गरिरहेका असल एवम् नविन कार्यहरुको प्रचार प्रसार कम भएको हुँदा नकारात्मक समाचारको प्रचार बढि भएको बताउनुभयो ।
जिल्ला सहकारी संघ लि. कास्कीका महासचिव दीपक प्रकाश आचार्यले सहकारी सिद्धान्त अनुरुप विशाल बचतले समुदाय एवम् वातावरण प्रतिको उत्तरदायित्व बहन गरि प्रशंसनीय कार्य गरेकामा धन्यवाद सहित निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण तिमिल्सिनाले संस्थाले विगत लामो समयदेखि वृक्षारोपण सरसफाई चौतरी पूर्ननिर्माण लगायतका कार्यहरुमा पार्क व्यवस्थापना समितिसंग सहकार्य गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत यस प्रकारको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा लागिरहोस् भन्दै यस प्रकारका कार्यक्रमहरुमा आफ्नो सदा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष शिव शर्माले उपस्थित सम्पूर्ण महानुभावहरुप्रति आभार एवं धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यसै प्रकारको सक्रिय सहभागिताको निमित्त अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भुवन नेम्कुल, लेखा संयोजक रामकृष्ण दुवाडी, संचालक समितिका सदस्यज्यूहरु विभिन्न उपसमितिका सदस्यज्यूहरु र कर्मचारी वर्गको समेत उपस्थिति रहेको थियो ।
संस्था सचिव प्रदीप कुमार मुल्मीले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष ईन्द्रराज अर्यालले स्वागत मन्तव्य र संचालक ईउलकुमारी पुनले सहकारी सिद्धान्त बाचन गर्नुभएको थियो ।