हिमाली आवाज । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ पोखरा(कास्की)को ८ औँ वार्षिक साधारणसभा तथा गण्डकी प्रदेशस्तरीय अपरेटर अन्तरक्रिया भोली भदौ २१ गते पोखरामा हुँदैछ । सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
‘नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघको आह्वान, तीव्र गति राष्ट्रनिर्माण, हाम्रो अभियान’ को नारा सहित हुने सो कार्यक्रम पोखरा चाउथेस्थित स्वागत पार्टी प्यालेसमा विहानदेखी सुरु हुनेछ ।
कार्यक्रम संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसी)का अध्यक्ष जगत सिंखडाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको र समितिले आआफ्नो जिम्मेवारीको काम गरेको अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतमले जानकारी दिनुभयो ।

साधारणसभाका अवसरमा माध्यमिक शिक्षा परीक्षा(एसइइ) र कक्षा १२ को परीक्षा उत्तीर्ण गर्ने संघका सदस्यहरुका छोरा छोरी मध्येबाट उत्कृष्ट अंक ल्याउने दुई जना नगद सहित सम्मान गरिने कार्यक्रम रहेको जनाइएको छ ।
अध्यक्ष गौतमले अपरेटर संघले सदस्यहरुको हितका लागि धेरै कार्य गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,“सदस्य साथीहरुको सुःख तथा दुःखका अवस्थामा समेत हामी साथमा छौँ । केही अप्ठ्यारो पर्दा मद्धत गरेका छौँ । आगामी दिनमा अझै सदस्यहरुको हक हित र अधिकारका लागि काम गर्नेछौँ ।”
अपरेटर सङ्घ गण्डकीका अध्यक्ष प्रेम थापाले अन्तरक्रियामा प्रदेशका सबै जिल्लाबाट अपरेटरको सहभागिता हुने बताउनुभयो । उहाँले कार्यक्रम भव्य रूपमा सफल हुने समेत उल्लेख गर्नुभयो ।
अपरेटर संघ कास्कीले सदस्यहरुको विमा तथा कुनै भवितव्य परेको खण्डमा आर्थिक सहयोगका लागि समेत पलकदमी गर्दै आएको छ । संघले आफ्नै कार्यालय समेत सञ्चालनमा ल्याएको छ ।