हिमाली आवाज । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को केन्द्रीय समितिको उपाध्यक्षमा पोखराका स्थापित सिए अनिल लामिछाने निर्वाचित हुनुभएको छ । एक्यानको हालै सम्पन्न निर्वाचनमा लामिछानले कुल ८६७ मत ल्याएर विजयी हुनुभयो । सिए अनिल लामिछानेले कागजी गणनामा १२१ मत र मेसिन गणनामा ७४६ मत प्राप्त गर्नुभयो ।
यससँगै लामिछानेले काठमाडौँ बाहिरबाट एक्यानको केन्द्रीय पदाधिकारीमा निर्वाचत हुने पहिलो व्यक्ति समेत बन्नुभयो । यसअघि काठमाडौँ बाहिरबाट केन्दीय पदाधिकारीमा कसैले पनि स्थान पाएका थिएनन् ।

एक्यानको निर्वाचनमा उपाध्यक्ष पदका लागि राजु ढकाल, अनिल लामिछानेले र लोकेन्द्र ऐरले उम्मेदवारी दिनुभएको थियो । उपाध्यक्षमा निर्वाचित लामिछाने एक्यानको कार्यसमितिमा बसेर काम गरिसक्नुभएको छ । उहाँ हाल एक्यानकाे गण्डकी प्रदेश प्रमुख समेत हुनुहुन्छ । (एक्यान)को अध्यक्षमा भने अनुप नेपाल विजयी हुनुभएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान स्थायी निवासी लामिछाने विगत एक दशकदेखी चार्टर्ड एकाउन्टेन्टको रुपमा कार्यरत रहनुभएको छ ।
नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा नेपाली सीएहरु सदस्य रहने प्रावधान छ ।


