राष्ट्रपति रनिङ शिल्डमा पोखरा महानगर च्याम्पियन,माछापुच्छ्रे उपविजेता बन्याे

हिमाली आवाज । पोखरा महानगरपालिकाले कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड लगातार चौथोपटक जितेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न १६ औँ संस्करणको प्रतियोगितामा समेत सर्वाधिक पदक जितेर पोखरा शिल्ड जितेर च्याम्पियन बन्यो । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारा सहित विद्यालय तहबाटै खेलाडी उत्पादन र विकासका लागि राष्ट्रपति रनिङ शिल्ड आयोजना हुँदै आएको छ ।

पोखराले प्रतियोगितामा समावेश भएका चार खेल इभेन्टमा २० स्वर्ण आठ रजत र छ कास्य पदक सहित कूल ३४ पदक जित्न सफल भयो ।
माछापुच्छ«े गाउँपालिका दुई स्वर्ण, सात र रजत र आठ कास्य पदक जितेर उपविजेता भन्दा अन्नपूर्ण गाउँपालिका दुई स्वर्ण, पाँच रजत र सात कास्य सहित तृतीय हुन सफल भयो ।

यसैगरी रुपा गाउँपालिकाले दुई स्वर्ण, चार रजत र पाँच कास्य पदक जित्दा मादी गाउँपालिकाले एक रजत र एक कास्य पदक मात्र पाउन सफल भयो ।
प्रतियोगिता अन्तर्गत एथलेटिक्स, भलिबल र कबड्डीका स्पर्धा भएका थिए । पोखरा महानगर छात्र–छात्रा भलिबलमा जित हात पार्दै च्याम्पियन हुदा कबड्डीमा समेत छात्र–छात्रातर्फ नै टिम च्याम्पियन हुन सफल भयो ।

एथलेटिक्सतर्फ पोखराले १६ स्वर्ण, आठ रजत र छ कास्य पदक जित्दा, अन्नपूर्णले दुई स्वर्ण, पाँच रजत र चार कास्य जित्न सफल भयो ।
उपाधि बिजेता पोखरा महानगरको टिम लगायत अन्य टिम तथा खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मीलन गुरूङ, प्रतियोगिताका संयोजक रामचन्द्र गिरी, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, जिल्ला खेलकुदका कार्यालय प्रमुख डिबी नेपाली लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा जिल्लाका पाँच पालिकाका दुई सय ७० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले सबै पालिकाहरुले खेलकुदका लागि आवश्यक बजेट विनियोजन गर्दै खेलकुद विकासका लागि आवश्यक ध्यान दिनु पर्ने बताउनुभयो ।
“राष्ट्रको गरिमा उच्च बनाउने खेलकुदको जग बलियो बनाउन सके अन्तर्राष्ट्रियस्तरमा नेपालको माथि उठाउन सकिन्छ । स्थानीय सरकारले विद्यालय खेलकुदमा लगानी बढाउनु आवश्यक छ। ” पौडेलले भन्नुभयो ।

Comments
Loading...