सरकारी स्कुलका विद्यार्थीलाई न्यानो कपडा लिएर मादी उक्लियो लायन्स डाउन टाउन

हिमाली आवाज । लायन्स क्लब अफ पोखरा डाउन टाउनले कास्कीको मादी गाउँपालिका–२, ताङतिङस्थित हिमालयन मिलन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

क्लबका सक्रिय सदस्य अंकित सुवेदीको जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको छ ।

क्लबका अध्यक्ष ऋषि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष भानुभक्त अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमनध्वज गुरुङले मन्तव्य राख्दै लायन्स क्लबले शिक्षा, स्वास्थ्य तथा विपन्न वर्गको सेवामा पु¥याउँदै आएको योगदानको खुलेर प्रशंसा गर्नुभयो। उहाँहरूले चिसो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नु अत्यन्तै समयसापेक्ष र संवेदनशील कार्य भएको बताउँदै क्लबप्रति आभार प्रकट गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरुङले विद्यालय र विद्यार्थीहरूको तर्फबाट लायन्स क्लब अफ पोखरा डाउन टाउनप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै अध्ययनमा थप प्रेरणा मिल्ने उल्लेख गर्नुभयो।

कार्यक्रमको अन्त्यमा जन्मोत्सव मनाइरहनु भएका अंकित सुवेदीप्रति विशेष धन्यवाद व्यक्त गर्दै क्लबले सामाजिक सेवामार्फत जन्मदिन मनाउने संस्कृतिलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको थियो। लायन्स क्लब अफ पोखरा डाउन टाउनले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

Comments
Loading...