पोखरामा शहीद विजय ढकालको २१ औँ स्मृति दिवसमा दीप प्रज्वलन

हिमाली आवाज । जनयुद्धका महान् शहीद विजय ढकाल(विश्वास)को २१ औँ स्मृति दिवसमा मंगलबार पोखरामा दीप प्रज्वलन गरिएको छ ।
शहीद विजय ढकाल स्मृति प्रतिष्ठानको आयोजनामा शहीद पार्कमा दिप बालेर शहीद विश्वासलाई स्मरण तथा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । शहीद ढकालकी आमा पारु ढकालले दीप प्रज्ज्वलन कार्यक्रम सुरु गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ वामपन्थी नेता झलकपाणी तिवारीले विजय एक परिपक्व राजनीतिक व्यक्ति र कुशल संगठक एवं सुझबुझ पूर्ण नेता भएको सुनाउनुभयो । उहाँले विजयले कास्कीको कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन ठूलो योगदान गरेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष माधव मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आमोद(किरण) थापाले गर्नुभएको थियो ।

तत्कालीन नेकपा(माओवादी)का कास्की जिल्लाका सेक्रेटरी रहनुभएका शहीद ढकालको पार्टी कामको सिलसिलामा हिँडिरहेको अवस्थामा विसं २०६१ साल पुस २९ गते निर्मल पोखरीको साम्मी मैदानमा सेनाद्वारा हत्या गरिएको थियो ।

उहाँको राजनीतिक जीवन अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति हुँदै शुरु भएको थियो भने २०५६ सालमा पि एन क्याम्पसमा भएको कार्यक्रममा प्रहरी धरपकडलाई कुशलतापुर्वक छल्दै उहाँ भुमिगत राजनीतिमा प्रवेश गर्नुभएको थियो

भूमिगत भएपछि उहाँ चितवन तथा नवलपरासी जिल्लामा पार्टीका विभिन्न तहमा रहेर जनयुद्धमा सक्रिय हुँदै फेरि कास्कीमा आई सेक्रेटरी बन्नुभयो। त्यति नै बेला  पौष २९ गते निःशश्त्र रहेकै अवस्थामा शाही सेनाले घेरा हाली नियन्त्रणमा लिएर २८ वर्षको उमेरमा उहाँको हत्या गरेको थियो। हत्या गरेर शव बेपत्ता पारेपछि उहाँको शव प्राप्त गर्न ५ दिन सम्म संघर्ष गर्नुपरेको थियो ।
सङ्गठनभित्र र बाहिर एउटा सरल, इमानदार, मृदुभाषी, जुझारु र प्रतिबद्ध क्रान्तिकारी नेताका रूपमा उहाँको परिचय बनेको थियो। उहाँ अध्ययनशील र सिद्धान्तनिष्ठ युवा राजनीतिज्ञका रूपमा चिनिनुहुन्थ्यो। विद्यार्थी आन्दोलन, माओवादी पार्टी पङ्क्ति र जनस्तरमा उहाँको लोकप्रिय छवि स्थापित थियो।
Comments
Loading...