कास्कीमा सुरु भयो निर्वाचनको तयारी,मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हिमाली आवाज । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन –२०८२ का लागि कास्कीमा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय माटेपानीस्थित पशुपन्क्षी विकास तथा अनुसन्धान प्रतिष्ठानको भवनमा स्थापना गरिएको छ ।

यसैगरी क्षेत्र न २ को ड्यामसाइडस्थित जलस्रोत तथा सिँचाई व्यवस्थापन आयोजना कार्यालयमा स्थापना गरिएको छ । यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं ३ को कार्यालय मालेपाटनस्थित कृषि मन्त्रालयको परिसरमा स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले निर्वाचन आयोगको कार्यतालिका अनुसारनै निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर निर्वाचनका अन्य कामहरु अघि बढाइएको जानकारी दिनुभयो । कानुनको शासन र सभ्य समाजका लागि जनताबाट निर्वाचित प्रतिनिधिहरुले बनाएको कानुनबाट शासित हुनुपर्ने मान्यता रहेको बताउनुभयो ।

“कानुनको सर्वोच्चतामा समेत जनताका प्रतिनिधिले निर्माण गरेको कानुनबाट शासन हुनुपर्दछ । प्रतिनिधिहरु जनताबाट छनोट हुने कामको प्रारम्भ आजदेखी सुरु भएको छ । भएरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न सबैको साथ सहयोग आवश्यक छ ।” मुख्य निर्वाचन अधिकृत बेल्बासेले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि सुरक्षा रणनीति बनाएर कार्यान्वयन सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा फरार रहेका कैदीबन्दीहरुलाई पक्राउ गर्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको समेत जानकारी दिनुभयो ।

आसन्न निर्वाचनका लागि जिल्लामा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत नारायण ढकालले जानकारी दिनुभयो। जसमा महिला एक लाख ६० हजार एक सय ५३, पुरुष एक लाख ४८ हजार चार सय १५ र अन्य मतदाता चार जना रहेका छन्। यसैगरी जिल्लामा एक सय ५३ मतदानस्थल तोकिएको छ ।

Comments
Loading...