नेकपाले कास्की क्षेत्र नं १ मा करणलाई बनायो उम्मेदवार

हिमाली आवाज । नेपाली कम्युनिष्ट पार्टी(नेकपा))ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र न १ बाट राजकाजी गुरुङ(करण)लाई उम्मेदवार बनाउने भएको छ ।

आगामी फागुन २१ गतेको चुनावका लागि नेकपाले करणलाई टिकट दिएको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपालले टिकट प्रदान गर्नुभयो ।

गुरुङ संविधानसभा सदस्य समेत हुनुहुन्छ । उहाँ विसं २०६४ को निर्वाचनमा कास्की क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएका गुरुङले केही समय अर्थमन्त्रालयमा राजनीतिक सल्लाहकार भएर समेत काम गर्नुभयो । गुरुङ समुदायको बाहुल्य रहेको र लामो समय सोही क्षेत्रमा राजनीति तथा विकास निर्माणको काममा क्रियाशील भएकाले करणलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

यसैगरी नेकपाले कास्की क्षेत्र न २ मा मदन आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको छ । आचार्य व्यवसायिक पृष्ठभूमिबाट हुनुहुन्छ । यद्यपी अन्तिम टुँगो लाग्न भने बाँकी रहेको नेकपा स्रोतले जनाएको छ । यसैगरी क्षेत्र नं ३ मा समेत उम्मेदवार टुँगो लाग्न बाँकी छ ।

यसैगरी नेकपा एमालेले पनि उम्मेदवार सिफारिसको अन्तिम तयारी गरेको छ । उम्मेदवार छनोटका लागि एमालेको सचिवालय बैठक बसिरहेको छ । नेपाली काँग्रेस लगायतका दलहरु समेत आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता यही माघ ६ गतेका लागि तोकिएको छ ।

Comments
Loading...