हिमाली आवाज । पोखरामा सञ्चालन भइरहेको छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारको अन्तिम खेलमा घरेलु टोली गण्डकीले आर्मीमाथि ३–१ को उत्कृष्ट जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो ।
चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यससँगै घरेलु टोली गण्डकीले च्याम्पियनसिपमा दोस्रो जित दर्ता गराएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो । आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
यसअघि आजै भएका खेलमा महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकाल्यो । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो ।
च्याम्पियनसिपअन्तर्गत मंगलबार चार खेल हुनेछन् । पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्ड क्विन्सबिच खेल हुनेछ । दोस्रो खेल महिलातर्फ नै न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसबिच हुनेछ ।
पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने खेल तालिका रहेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ ९ गतेदेखी सुरु भएको प्रतियोगिता १७ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । ‘सिंगल राउण्ड रोविन’को आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन हुने टोलीले समान नगद रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


