आहा रारा पोखरा गोल्ड कप माघ २७ देखी, चार विदेशी टोली आउँदै

हिमाली आवाज । मोफसलको प्रतिष्ठित र पुरानो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता यही माघ २७ देखी फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुँदैछ ।

सहारा क्लब पोखराको आयोजना हुने पच्चीसौँ संस्करणको सो प्रतियोगितामा विदेशका चार र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्ने आज क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरा लगायतका नेपाली टिमहरूको सहभागिता रहनेछ ।

यसैगरी भारतबाट थनडरवोल्ड युनाइटेड (सिक्किम) सहित दुई टिम तथा उज्वेकिस्तानको आभा फुटबल क्लब र गोर्खा इन्टरनेशनल फुटबल क्लब, हङकङ विदेशी टोलीका रूपमा सहभागी हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

सहाराले यस वर्ष पुरस्कार राशिमा समेत वृद्धि गरेको जनाएको छ । प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार,उपविजेताले रु सात लाख एक हजार पाउने छन् । गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
आयोजक सहाराले यस वर्ष अस्थायी फ्लड लाइट जडान गरेर रात्रीकालिन समयमा खेल सञ्चालन गर्ने जनाएको छ ।क्लबका अध्यक्ष थापाले ३५ फिट उचाइको अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेल सञ्चालन गरिने जानकारी दिनुभयो ।

खेलको पहिलो हाफ उज्यालोमा र दोस्रो हाफ साँझको अध्यारोमा खेलाइनेछ । झापाबाट फ्लडलाइट ल्याएर जडान गर्दा करिब २० लाख रुपैयाँ खर्च अनुमान गरिएको जनाइएको छ ।

हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीले सहाराको कार्य उत्कृष्ट रहेकाले सदैव साथ रहने प्रतिवद्धता जनाउनुभयो ।

Comments
Loading...