हिमाली आवाज । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखी पोखरा रङ्गशालामा सुरु भएको छ ।
सहारा क्लबले पहिलोपटक अस्थायी फ्लडलाइटमा सन्ध्याकालिन खेल सञ्चालन गरेको हो । उद्घाटन खेलमा आयोजक सहारा क्बल पोखराले विजयी सुरुआत गरेको छ । सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० ले पराजित गर्न सफल भयो ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको थपिएको चार मिनेटको इन्जुरी समयमा आयोजक टोलीका प्रशन्न श्रेष्ठले गोल गर्नुभपछि सहाराले जित निकाल्न सफल भयो ।
प्रतियोगितामा आयोजक सहारा र गोरखा इन्टरनेशल सहित नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब छन् ।
यसैगरी विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड सहभागी छन् ।
आगामी फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार,उपविजेताले रु सात लाख एक हजार पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको हो । गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । “प्रतियोगिताको आकर्षण वृद्धि गर्न यस वर्ष विगतको तुलनामा पुरस्कार बढाएका छौ भने रात्रिकालिन फुटबलले यहाँको फुटबल माहोल बढाउने विश्वास छ ।” सहाराका अध्यक्ष केशबबहादुर थापाले बताउनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही रु २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ ।यसैगरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार रु १० हजार र ट्रफी रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महागनर प्रमुख धनराज आचार्यले पोखरा रङ्गशालामा स्थायी फ्लड लाइट जडानका लागि महानगरले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पोखरा पर्यटनको राजधानी मात्र नभई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका कारण खेलकुद राजधानी समेत बनेको बताउनुभयो ।


