हिमाली आवाज । नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मण बहादुर थापा निर्वाचित भएका छन् । क्लबको बुधबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
जस अन्तर्गत क्लबको उपाध्यक्षमा मित्रलाल बास्तोला, सचिवमा प्रेम तिमिल्सिना र कोषाध्यक्षमा हरि प्रसाद पहारी निर्वाचित हुनुभयो । त्यसैगरी सदस्यमा रविन अधिकारी, ओमित गुरुङ, ईस्का राई, राम तामाङ र राजेश गिरी रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाइडिङले पोखरामा पर्यटकको बसाइ अवधि बढाउन र साहसिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
क्लब अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव प्रेम तिमल्सिनाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुमन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण बहादुर थापाले आगामी कार्यकालमा पाइलटहरूको हक, हित तथा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।
नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब समग्र पाइलटहरूको हक, हित तथा सुरक्षाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७३ साल भाद्र ८ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भई कार्यारम्भ गरेको संस्था हो । हालसम्म ४ सय १२ जना नेपाली पाइलटहरूले टेन्डम लाइसेन्स प्राप्त गरिसकेका छन् ।


